About Us

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, अमेरिका (Federation of International Journalist, America) :

अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA) पत्रकारहरू र सञ्चारकर्मीहरूको एक विश्वव्यापी संगठन हो। FIJA प्रेस स्वतन्त्रताको प्रवर्द्धन, पत्रकारहरू र सञ्चारकर्मीहरूको संरक्षण, र नैतिक पत्रकारिताको प्रवर्द्धनका लागि समर्पित छ। FIJA पत्रकारहरूको अधिकारको रक्षा, अभिव्यक्तिको स्वतन्त्रता र सूचनाको स्वतन्त्र प्रवाहको प्रवर्द्धनमा प्रतिबद्ध छ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (FIJA), अमेरिका, स्वतन्त्र, साझा र छाता सङ्गठनका रूपमा पेशागत पत्रकारहरूको हकहितको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको हो। यस सङ्घको परिकल्पना पत्रकारिताको धर्म र मर्मलाई आत्मसात् गर्दै अघि बढ्ने उद्देश्य अनुरूप गरिएको छ।

पत्रकारिता र यसको धर्म :

पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्छ। कुनै पनि पार्टी वा पक्षको वकालत नगरी सत्य र तथ्यको पक्षमा बोल्नु, लेख्नु र प्रस्तुत गर्नु नै पत्रकारको धर्म हो। पाठक, दर्शक र श्रोतालाई सत्य तथ्य जानकारी दिनु नै पत्रकारको कर्तव्य हो। सत्यलाई केन्द्रमा राख्दै निष्पक्ष र उत्तरदायी पत्रकारिताको प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ क्रियाशील रहनेछ।

हकहित र कर्तव्यबोध :

पत्रकारहरूको हकहितको संरक्षण र संस्थागत रुपमा आवाज उठाउन महासङ्घ सदैव तत्पर रहनेछ। लोकतन्त्रको मौलिक पक्षलाई आत्मसात् गर्दै पत्रकारहरूले कुनै राजनीतिक विचारधारालाई अंगाल्न सक्ने स्वतन्त्रता हुँदाहुँदै पनि, महासङ्घमा क्रियाशील रहँदा कुनै पनि राजनीतिक पक्षको प्रभावमा नपरी निष्पक्ष रूपमा प्रस्तुत हुनुपर्छ। केन्द्रदेखि शाखासम्मको संरचनामा पत्रकारिताको धर्म र मर्मलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिज्ञा महासङ्घले गर्दछ।

निष्पक्षता र सहकार्य :

महासङ्घ कुनै पनि पत्रकारिता सम्बन्धी संघसंस्थाको विरोधी होइन र भविष्यमा पनि हुनेछैन। बरु, अन्य पत्रकारिता संग सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने नीति महासङ्घले अंगालेको छ। सत्यलाई अँगाल्दै, पत्रकारिताको वास्तविक धर्म र मर्मलाई आत्मसात् गर्दै निष्पक्ष रूपमा अघि बढ्न महासङ्घ प्रतिबद्ध छ।

संस्थागत संरचना र विस्तार :

यो संस्थालाई नाफारहित सामाजिक संस्था रूपमा स्थापना गरिएको हो। प्रधान कार्यालय अमेरिकामा रहेको यस सङ्घले विश्वभरका विभिन्न देशमा शाखा विस्तार गर्ने योजना राखेको छ। यो छाता सङ्गठनले स्वदेश तथा विदेशमा छरिएर रहेका पत्रकारहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य राखेको छ।

जुनसुकै देशका पत्रकारहरू सदस्य बन्न सक्ने :

FIJA मा नेपाली मात्र नभई जुनसुकै देशका पत्रकारहरू सदस्य बन्न सक्नेछन्। यस महासङ्घको नीति अनुसार, एउटा देशमा एक शाखा खोलिनेछ। रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन लगायत सञ्चारमाध्यममा कार्यरत सबै पत्रकारहरू सदस्य बन्न सक्नेछन्। इच्छुक पत्रकारहरूले शाखा स्थापना तथा सहभागिताका लागि प्रधान कार्यालयको इमेलमा सम्पर्क गर्न सक्नेछन्।

हाम्रो प्रतिबद्धता :

हामी कुनै पनि पक्ष वा विपक्षमा लागेर होइन, सत्यको पक्षमा उभिएर पत्रकारिताको वास्तविक धर्मलाई आत्मसात् गर्दै अघि बढ्ने छौँ। हाम्रो लक्ष्य पत्रकारहरूको अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्नु र उनीहरूको हकहितको संरक्षण गर्नु हो।